You are currently viewing विश्व साइकल दिवस, नेपालमा साइकल चढ्न लाइसेन्स चाहिन्थ्यो

विश्व साइकल दिवस, नेपालमा साइकल चढ्न लाइसेन्स चाहिन्थ्यो

Source: oldphotosofnepal.com

जुन ३, विश्व साइकल दिवस । संयुक्त राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री, भरपर्दो, सरल, किफायती, स्वस्थ र चुस्त रहन मद्दत गर्ने सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व साइकल दिवसको मनाउन थालिएको हो। 

नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः कमजोर आय भएका वर्गको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । नेपालमा कुनै बेला साइकल चढ्नका लागि लाइसेन्स चाहिन्थ्यो, अहिले मोटरसाइकल चढ्न जस्तै ।

वि.संं २०२३ साल मंसिर १७ गते जिल्ला पञ्चायत कार्यालय, मोरङले जारी गरेको साइकलको लाइसेन्स ।
लाइसेन्स पाउनेको नाम थर वतनः कनैयालाल भगत, विराटनगर नगर पञ्चायत, मोरङ
साइकलको किसिमः चैम्पियन

नियमित शारीरिक गतिविधि जस्तै हिँड्ने, साइकल चलाउने र खेल्ने कार्यले मानिसको स्वास्थ्यमा धेरै फाइदा पुग्ने गर्छ । सबै उमेर समूहका लागि, शारीरिक रुपमा सक्रिय हुनु भनेको स्वास्थ्यमा फाइदासँगै सम्भावित हानिबाट जोगिनु पनि हो । केही नगरी बस्नुभन्दा सजिलो तरिकाको शारीरिक गतिविधि गर्नुले मानिसलाई स्वस्थ रहन धेरै मद्दत गर्छ । दिनभरि सक्रिय हुन सके मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । र, यस्तो व्यस्त जीवनमा शारीरिक रुपमा सक्रिय रहँदै स्वस्थ रहन साइक्लिङले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

साइकल कुदाउनुको फाइदा मानिसको शारीरिक तन्दुरुस्ती मात्र नभई वातावरणीय हिसाबले पनि उत्तम रहेको विभिन्न अध्ययनले समेत पुष्टि गरिसकेको छ । कुनै पनि राष्ट्रले साइकल कुदाउन मिल्ने गरी सडक निर्माण र साइकल कुदाउने मानिसमा लगानी गर्ने हो भने यसले राष्ट्रको बजेटसँगै नागरिकको जिवन पनि जोगिने अध्ययन, अनुसन्धानले देखाएको छ । यसले वातावरणको संरक्षण, गरिबी निवारणमा समेत सहयोग गर्ने सक्ने देखिन्छ ।

सहरमा जनसंख्याको वृद्धिसँगै उत्पन्न हुन सक्ने यातायातको समस्यामा पनि साइकल समाधानको उपाय हुन सक्छ । यसले वायु प्रदूषण उल्लेखनीय मात्रामा कम त गर्छ नै साथै सडक दुर्घटनामा पनि व्यापक सुधार गर्ने निश्चित छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार पैदल यात्रु हिँड्ने र साइकल चलाउने पूर्वाधार स्वस्थ्य राष्ट्रको एक पहिचान र अनिवार्य आवश्यकता हो ।

सडक सञ्जालको राम्रो पहुँच नभएको र आर्थिक रुपमा विपन्न परिवार बसोबास गर्ने क्षेत्रका मानिसहरुलाई साइकल एक यातायातको साधनसमेत हो । यसका अलवा हिँड्ने र साइक्लिङ गर्नुले मानिसहरुमा हुन सक्ने हृदयघात, स्ट्रोक, क्यान्सर (विशेष किसिमका), मधुमेह र मृत्युको जोखिम कम गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सुधारिएको व्यवस्थित यातायातको साधनहरु सुविधाजनक भएपनि स्वास्थ्यको दृष्टिले खासै लाभदायक हुँदैनन् । यता, साइकलको विषयमा हेर्ने हो यसको खरिदमा कम लगानी हुनेसँगै यो सबैको लागि सहज, सजिलो र उपयोगी समेत छ ।

साइकल टिकाउ, विशिष्ट हुनुको साथै यसको बहुउपयोगी गुणलाई देखेर नै मानिले यसलाई दुई शताब्दीदेखि प्रयोग गरिरहेका छन् । यो सरल, किफायती, भरपर्दाे र वातावरण सुहाउँदो पनि छ ।

साइकल दीगो यातायातको साधन, वातावरणीय हिसाबले पनि उपयोगी र यसको प्रयोगले मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको हुँदा ३ जुनलाई विश्व साइकल दिवसको रुपमा घोषणा गरिएको र मनाउन थालिएको हो ।

दिवसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुको विकासमा बढावा दिन, शिक्षालाई सुदृढीकरण, बालबालिका र युवाहरुका लागि स्वास्थ्य शिक्षा, रोगलाई रोकथाम, सहिष्णुता र पारस्परिक समझदारी र सम्मान र सामाजिक समावेशीकरणको सुविधाको लागि साइकलको प्रयोगलाई जोड दिन प्रोत्साहन गर्छ । यतिमात्र नभई संघले विश्व साइकल दिवसलाई शान्तिको संस्कृतिसमेत भन्ने गरेको छ ।

साइकल नै किन ?

– साइकल सजिलो, सस्तो, भरपर्दो र वातावरण सुहाउँदो यातायातको साधन हो ।
– साइकल विकासको साधनसमेत हो । यसले यातायातको अलावा शिक्षा, स्वास्थ्य सेवा र खेलकुद क्षेत्रको विकास र पहुँचमा समेत सहयोग पुर्याउँछ ।

– साइकल र प्रयोगकर्ताबीचको तालमेलले रचनात्मकता र सामाजिक संलग्नतालाई बढावा दिन्छ । साथै प्रयोगकर्तालाई स्थानीय वातावरण, समाजसँग तत्काल सम्पर्क गराउँछ ।

– साइकल दीगो यातायातको साधनसमेत हो । यसले दीगो खपत र उत्पादनलाई बढावा दिन सकारात्मक सन्देश दिन्छ । साथै यसको प्रयोगले जलवायुमा सकारात्मक प्रभाव पर्न जान्छ ।

सन्दर्भ सामाग्री

सामाजीक सञ्जाल
फोटो म्यूजियम नेपाल